गैंडाको खाग सहित ३ जना पक्राउ

June 28, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने बस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने गोरखा चुमनुब्री गाउँपालिका-३ सिर्दिबास बस्ने ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ महादेववेशि थाक्रे गाउँपालिका-६ बस्ने मकवानपुर घर भएका ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ महादेव वेशि थाक्रे गाउँपालिका-११ बस्ने ३४ वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका छन् ।

उक्त स्थानमा डेरा गरी बस्ने लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्री बितरण कारोबार गरिरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लालबहादुरको डेराकोठा खानतलासी गर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।