अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

June 28, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

गोकर्णेश्वर नगरपालिका-४ नारायणटारबाट काठमाडौं बल्खु बस्ने बारा घर भएका २० वर्षीय दिनेश चौधरी र काठमाडौं गोकर्ण नगरपालिका-७ दक्षिणढोका बस्ने बारा घर भएका ३२ वर्षीय राजु लामालाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ हजार १ सय ९० पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-५ गौशला चोकबाट सोही नगरपालिका-१४ बस्ने ४५ वर्षीय राजेश कुमार शाही समेत २ जनालाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याब्लेट ८ सय २५ पिस, नोफिन ६ पिस, डाईजेल्याप ६ पिस, फेनरागन ६ पिस र ऐस्पाईसमो ७२ पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले ज.८ प २९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ पुरानो बसपार्कबाट रोल्पा माढी गाउँपालिका-२ बस्ने ३० वर्षीय सुरेश बुढा लगायत २ जनालाई अवैध लागूऔषध अफिम करिब २.५ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट करिब २५ केजी लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले जेब्रा झोला छोडी फरार भएपश्चात झोला जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।