नियन्त्रित लागूऔषध सहित पक्राउ

June 19, 2019   Filed under Halkhabar >>>> Please Subscribe our Youtube Channel

बारा, निजगढ नगरपालिका-८ बकैयापुल नजिकबाट सोही नगरपालिका-९ का २२ वर्षीय सुजन लामा र ३५ वर्षीय नारायण हरि भण्डारीलाई नियन्त्रित लागूऔषध डाईजेल्याव ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र फेनारगन ३३ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको ना.१ ह ९०१४ नम्बरको अटो रिक्सालाई जाँच गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी लामा र अटो रिक्सा चालक भण्डारीलाई पक्राउ गरेको हो ।

महोत्तरी, सम्सि गाँउपालिका-७ बाट भक्तपुर नगरपालिका घर भएका २४ बर्षीय नितेस राउत र २१ बर्षीय निरज केसीलाई नियन्त्रित लागूऔषध नुर्फिन सिरफ ४ थान, डाईजेल्याव सिरफ ४ थान , प्रोमेथाजाईन सिरफ ४ थान र नाईट्रोसन ट्याव्लेट एक पत्ता सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सी, महोत्तरीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-८ बगाले टोल बस्ने ४९ वर्षीय कुमार गुरुङलाई बुप्रिननर्फिन १ सय २३ एम्पुल, डाईजापाम १ सय २३ एम्पुल, फेनरागन १ सय २३ एम्पुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध खरीद, बिक्री बितरण ओसारपसार, सेवन सञ्चय समेत गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई सोही टोलमा फेला पारी जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई राखेको उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।