बौद्ध विश्वविद्यालयमा शोकसभा

June 17, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

लक्ष्मण पौडेल, बुटवल ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा नियन्त्रक सिद्धीश्वरमान श्रेष्ठको निधनको सातौं दिनमा शोक सभा गरेको छ । लुम्बिनीस्थित विश्वविद्यालयमा आयोजित शोक सभामा बोल्दै वक्ताहरुले श्रेष्ठले शैक्षिक प्रशासन र प्रध्यापन क्षेत्रमा गरेको योगदानको स्मरण गरे ।

कोरोना संक्रमित श्रेष्ठको बैशाख २७ गते उपचारका क्रममा काठमाण्डौंमा निधन भएको थियो । चार दशक शैक्षिक क्षेत्रमा विताएका श्रेष्ठ ०७३ सालदेखि बौद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रक भई काम गरेका थिए ।

शोक सभामा बोल्दै बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले सिद्धीश्वरमानको निधनले समग्र शैक्षिक क्षेत्रमै क्षति पुगेको बताए । त्रिभुवन विश्वविद्यालय र बौद्ध विश्वविद्यालयको शैक्षिक प्रशासन, प्राध्यापन र अनुसन्धानमा श्रेष्ठले महत्वपूर्ण काम गरेको उनले बताए ।

विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले परीक्षा प्रणालीको सुधारमा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले अगालेका वाटोहरु पछ्याउदै अघि बढ्नु पर्ने बताए ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले शैक्षिक प्रशासनको एउटा कुशल प्रशासक शैक्षिक क्षेत्रले गुमाउदा स्तब्ध भएको बताए । बौद्ध विश्वविद्यालयमा श्रेष्ठले महत्वपूर्ण योगदान गरेको भन्दै त्यसको सम्मान हुने उनले प्रतिवद्धता जनाए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले श्रेष्ठ परीक्षा नियन्त्रक मात्रै नभई अभिभावक नै रहेको बताए । उनले सिद्धीश्वरमान मिलनसार, मृदभाषि, लगनशील व्यक्ति रहेको स्मरण गर्दै परीक्षाको सर्न्दर्भमा उनले अगाडी बढाउन खोजेका योजनाहरु विश्वविद्यालयले आत्मसाथ गरेर जाने बताए ।

विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले सिद्धीश्वरमानको लगनशीलता र मिहेनत गर्ने शैलीलाई सबैले आत्मसाथ गर्नुपर्ने बताए । अनुसन्धान केन्द्रका निर्देशक डा. गितु गिरीले ४० वर्षेखि श्रेष्ठसंग आफूले संगत गरेको भन्दै उनी एक प्रेरणादायी अध्ययनशील व्यक्ति भएको स्मरण गरे ।

परीक्षा नियन्त्रक श्रेष्ठकी धर्मपत्नी डा. सावित्री श्रेष्ठले अन्तिम साससम्म पनि विश्वविद्यालयको विषयमा चिन्ता गरिरहेको भन्दै श्रीमान्ले बनाएका योजना पूरा गरिदिन विश्वविद्यालयलाई आग्रह गरिन् ।

शोकसभामा केन्द्रीय क्याम्पसका निमित्त क्याम्पस प्रमुख निरबहादुर गुरुङ, डा. मोहन खतिवडा, कर्मचारी गजेन्द्र गुप्ता लगायतले श्रेष्ठको स्मरण गर्दे शोक मन्तव्य दिएका थिए । शोक कार्यक्रममा श्रेष्ठको सुखवती भुवनमा बासको कामना गर्दै भन्ते, लामाहरु डा. निमा शेर्पा, लामागुरु फर्वा शेर्पा, प्राध्यापक भिक्षु वजिरले पाठ पारायण गरेका थिए ।