४ सय ४९ ग्राम ७७ मिलिग्राम सुन सहित ३ जना पक्राउ

August 11, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

गोदावरी नगरपालिका-१ अत्तरियाबाट ४ सय ४९ ग्राम ७७ मिलिग्राम सुन र नगद ४९ हजार ५ सय रुपैयाँ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कंचनपुर शुक्लाफाँटा नगरपालिका-८ फुलैली बस्ने ३५ वर्षीय भवानी घिमिरे, कैलाली गोदावरी नगरपालिका-१ अत्तरिया बस्ने शैलेश्वर सुनचाँदी पसलका संचालक ३१ वर्षीय समिर सिजापती र सोही सुनचाँदी पसलमा काम गर्ने सुनसरी रामधुनी नगरपालिका-३ सिंगिया घर भएका २६ वर्षीय राजु बिक रहेका छन् ।

अत्तरियास्थित सडकमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ ख ८३४९ नम्बरको बसलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसका सहचालक भवानीको साथबाट ४९ ग्राम ९५ मिलिग्राम सुनको बाला तथा नगद २६ हजार २ सय रुपैयाँ र बसमा सवार राजुको साथबाट ३ सय ४९ ग्राम ८७ मिलिग्राम सुन तथा नगद ६ हजार ९ सय ५ रुपैयाँ फेला पारी पक्राउ गरेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा भवानीले ल्याएको सुनको २ वटा बालामध्ये १ वटा सुनको बाला समिरलाई दिएको भन्ने खुल्न आएपछि सोही स्थानमा सुन लिन पुगेका समिरलाई ४९ ग्राम ९५ मिलिग्राम सुनको बाला र नगद १६ हजार ३ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद सुन र नगद सहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।