जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौ भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

August 11, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिन्छौ भन्दै रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१८ सराङ्कोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०७७ फागुन १९ गते जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसंग सेटिङ छ १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ’ भनी झूठ्ठो आश्वासन तथा बिश्वास दिलाई पीडकबाट १२ लाख रुपैयाँको चेक र नगद १ लाख १० हजार रुपैयाँ लिई ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका उनलाई प्रहरीले पोखरा महानगरपालिका-१८ सराङ्कोटबाट पक्राउ गरेको हो । यसअघि सोही घटनामा संलग्न रहेका सुर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पोखरा महानगरपालिका-१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट प्रहरीले पक्राउ गरेको थियो ।

त्रिपाठीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।