सिंगापुर पठाइदिन्छु भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको अभियोगमा १ जना पक्राउ

August 10, 2021   Filed under अन्य खबर >>>> Please Subscribe our Youtube Channel

सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका-८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाई सम्पर्क बिहिन भएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गर्नुका साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ ।