सांसद प्रदीप यादवलाई कोरोना संक्रमणको पुष्टि

August 1, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ ।

डा.उपाध्यायका अनुसार, संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । उनले भने, ‘३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको छ।’

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् ।

शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’ उनले परीक्षणको दायरा बढाउन माग गरेका छन ।
पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।